परिचय

नेपालको संविधानको धारा १६३ उपधारा (१) ले प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने ब्यवस्था गरेको छ । यसै ब्यवस्था अनुरुप सम्माननीय राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा १६३ उपधारा (२) बमोजिम प्रदेश प्रमुखको नियुक्ती हुने व्यवस्था गरिएको छ । संविधानले प्रदत्त गरेको प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारलाई सहयोग गर्न निजामती कर्मचारीको रुपमा प्रशासन सेवाको रा.प. प्रथम श्रेणीको सचिवको नेतृत्वमा प्रशासनीक कार्यहरु सम्पादन हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने ब्यवस्था छ ।

संघीय ब्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयको स्थापना गर्ने क्रममा बागमती प्रदेश (तत्कालिन प्रदेश नं.३) को प्रदेश प्रमुखको कार्यालयको स्थापना मिति २०७४ साल माघ ७ गते भएको हो । प्रदेश नं. ३ को अस्थायी राजधानीको रुपमा रहेको मकवानपुर जिल्लाको हेटौडालाई मिति २०७६ साल पुष २७ गते बसेको प्रदेश सभाको बैठकले प्रदेश नं. ३ को नाम बागमती तोकिएको र स्थायी राजधानी हेटौंडा कायम गरेको छ । नेपालको संविधान बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुखबाट मुख्यमन्त्री, मन्त्री¸सभामुख¸ उप सभामुखको नियुक्ति एवं शपथ गराउने, प्रदेश सभाबाट प्रमाणिकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणिकरण गर्ने, प्रदेश सभाको अधिवेशनको आब्हान र अन्त्य सम्बन्धी कार्यका लागि ब्यवस्थापकीय र सूचना तथा समन्वय गर्ने कार्यहरु यस प्रदेश प्रमुखको कार्यालयका प्रमुख कार्यहरु हुन । यी कार्यहरुको सम्पादन सामान्यत: मुख्यमन्त्री वा प्रदेश मन्त्रीपरिषद्को सिफारिस र सहमतीबाट हुने गर्दछ । यस प्रदेश प्रमुखको कार्यालयमा निजामती सेवा तर्फ १९ र स्वकीय सचिवालय तर्फ १२ जना कर्मचारीहरुको दरबन्दी रहेको छ । माननीय प्रदेश प्रमुखको सुरक्षार्थ तोकिएको दरबन्दी अनुसारका सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।